इरानको शीर्ष नेतृत्व सकिँदा पनि कसरी लडिरहेको छ युद्ध ?

२०८२ फागुन २८ विहीवार
सारांश
  • अमेरिका र इजरायलसँग इरानको युद्ध जारी रहँदा शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबी गरिए पनि इरानले अझै लामो समयसम्म युद्ध लड्न सक्ने बताएको छ ।

एजेन्सी, २८ फाल्गुण । अमेरिका र इजरायलसँग इरानको युद्ध जारी रहँदा शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबी गरिए पनि इरानले अझै लामो समयसम्म युद्ध लड्न सक्ने बताएको छ ।

 

अमेरिका-इजरायल र इरानबीच करिब १२ दिनदेखि युद्ध चलिरहेको छ । प्रारम्भिक दिनमै सर्वोच्च नेता अली खामेनीको मृत्यु भएको थियो भने त्यसपछि भएका आक्रमणमा करिब ५० जना उच्च अधिकारी मारिएको बताइएको छ । यति ठूलो क्षतिका बाबजुद पनि इरानले युद्ध जारी राख्न सक्ने दाबी गरिरहेको छ ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले यसका लागि विशेष सैन्य रणनीति बनाएको छ । उक्त रणनीतिअनुसार सैन्य नेतृत्व एउटै केन्द्रमा राखिएको छैन, बरु सात वटा छुट्टाछुट्टै समूहमा बाँडिएको छ । साथै हरेक महत्वपूर्ण पदका लागि पहिले नै चार-चार सम्भावित उत्तराधिकारी तय गरिएको बताइएको छ ।

 

मार्च १ मा इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशले दुई दशकसम्म अमेरिकाले विभिन्न देशमा लडेका युद्धको अध्ययन गरेको बताएका थिए । त्यसबाट सिक्दै राजधानीमा ठूलो आक्रमण भए पनि युद्ध जारी राख्न सकिने सुरक्षा संरचना तयार गरिएको उनको भनाइ छ ।

 

इरानले अपनाएको यो रणनीतिलाई 'डिसेन्ट्रलाइज्ड मोजेक डिफेन्स' भनिन्छ । यसमा सैन्य शक्ति र नेतृत्वलाई केन्द्रित नगरी साना-साना स्वतन्त्र संरचनामा बाँडिन्छ । यसले गर्दा यदि शत्रुले शीर्ष नेतृत्व, मुख्य कमान्ड केन्द्र वा ठूला मुख्यालय नष्ट गरे पनि बाँकी संरचना सक्रिय रहन्छ र युद्ध जारी राख्न सक्छ ।

 

यो संरचनामा इस्लामिक रिभोल्युसनरी गार्ड कोर, नियमित सेना, बसिज मिलिसिया, क्षेप्यास्त्र इकाइ, नौसेना र स्थानीय कमान्ड प्रणालीले सञ्जालझैँ काम गर्ने व्यवस्था गरिएको छ । सञ्चार प्रणाली अवरुद्ध भए पनि स्थानीय इकाइहरूले स्वतन्त्र रूपमा कारबाही गर्न सक्ने अधिकार पाएका छन् ।

 

इरानले आफ्ना विभिन्न सैन्य संस्थालाई फरक-फरक भूमिका दिएको छ । नियमित सेनाले प्रारम्भिक आक्रमण सामना गर्दै मोर्चा स्थिर बनाउने काम गर्छ भने हवाई प्रतिरक्षा इकाइले शत्रुको हवाई शक्ति रोक्ने प्रयास गर्छ । इस्लामिक रिभोल्युसनरी गार्ड कोरले दोस्रो चरणमा छापामार शैलीमा हमला गर्ने, आपूर्ति मार्ग अवरुद्ध गर्ने र दुर्गम क्षेत्रमा लडाइँ जारी राख्ने जिम्मा पाएको बताइएको छ ।

 

बसिज मिलिसियालाई ३१ प्रान्तमा विभाजन गरी स्थानीय कमान्डरलाई बढी अधिकार दिइएको छ । नौसेनाले फारसको खाडी र होर्मुज जलडमरू मध्य क्षेत्रमा शत्रुका जहाजमाथि आक्रमण गर्ने रणनीति अपनाएको छ भने क्षेप्यास्त्र बलले शत्रुका सैन्य र संरचनागत लक्ष्यमा टाढाबाट आक्रमण गर्ने जिम्मेवारी पाएको छ । साथै मध्यपूर्वका सहयोगी समूहमार्फत युद्धलाई इरानको सीमाभन्दा बाहिर पनि फैलाउने योजना रहेको बताइएको छ ।

 

विश्लेषकहरूका अनुसार इरानले यो रणनीति अमेरिकाले अफगानिस्तान र इराकमा गरेको युद्धबाट सिकेर बनाएको हो । ती युद्धमा अत्यधिक केन्द्रित नेतृत्व प्रणाली छिट्टै ध्वस्त भएको देखेपछि इरानले आफ्नो सैन्य संरचना साना-साना भागमा बाँड्ने नीति अपनाएको बताइन्छ ।

 

इरानले युद्धलाई छोटो समयमै जित्ने लक्ष्यभन्दा पनि लामो समयसम्म तान्ने रणनीति अपनाएको बताइन्छ। सस्ता हतियार र ड्रोन प्रयोग गरेर शत्रुलाई महँगा प्रतिरक्षा प्रणाली प्रयोग गर्न बाध्य बनाउने योजना पनि यसमा समावेश छ । यसले समयसँगै शत्रुको आर्थिक र राजनीतिक दबाब बढाउने इरानको अपेक्षा रहेको बताइन्छ ।

 

यसैबीच इरानले धेरै महत्वपूर्ण पदका लागि पहिले नै चार जनासम्म उत्तराधिकारी तय गरेर राखेको बताइएको छ । कुनै नेता मारिए वा सम्पर्क टुटे पनि अर्को व्यक्ति तुरुन्तै जिम्मेवारी लिन सक्ने व्यवस्था गरिएको छ । यसले कुनै एक व्यक्तिको मृत्युले पूरै प्रणाली अवरुद्ध नहुने उद्देश्य राखिएको बताइएको छ ।

 

इरानका विदेशमन्त्री अराघचीले हालै इरानमाथि भइरहेको बमबारीले युद्ध लड्ने क्षमता कमजोर नपारेको दाबी गरेका छन् । उनले युद्ध कहिले र कसरी अन्त्य गर्ने भन्ने निर्णय इरानले नै गर्ने बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार